शैक्षिक भ्रमणको रमाइलो अनुभूति

2020-02-07

शैक्षिक भ्रमणको रमाइलो अनुभूति

यात्रा गरेर नगरिने रहेछ,यात्रा त जारी हुने रहेछ । यात्रा देखेजस्तो अनि यात्रा लेखेजस्तो कहिले हुँदैन । यात्रालाई जीवन मानेर जीवनको सार्थकता खोज्नेहरु धेरै  हुन्छन् । यात्रा गर्दा हिमाल, पहाड, मैदान, पाखा तथा फाँट मात्र हेरिन्न, त्यहाँको परिवेश, जीवनशैली तथा चालचलन नजिकबाट अनुभव गरिन्छ । जो मानिस घुम्न जाँदैछ उसको उदेश्य भनेको रमाइलो गर्नुमात्र हुन्छ ।  यात्राको क्रममा कहाँ बस्ने, कसरी बस्ने, के खाने लगायतका प्रश्न गौण बन्न पुग्छन् । हामी जगत् मन्दिर माध्यमिक विद्यालयमा पढ्ने कक्षा ९ का विद्यार्थी यस्तै गौण प्रश्नलाई थाँती राखेर गत पौष १९ गतेदेखि २३ गते सम्मको शैक्षिक भ्रमणका लागि निस्केका थियौँ ।  

यस रमणीय यात्राको अवधिभर हामीले विभिन्न प्राकृतिक, सांस्कृतिक र धार्मिक विशेषता समेटिएका ठाउँहरु घुम्यौंँ । हरेक ठाउँ घुम्दा हामीले एउटा न एउटा अविस्मरणीय पल समेटी त्यस ठाउँको सुन्दरतालाई नियाल्ने कोशिस ग¥यौँ । त्यसमाथि चितवनको थारु नाच, घान्द्रुकको मन्त्रमुग्ध पार्ने माछापुच्छ्रे हिमालको सुन्दरता, पोखराको फेवाताल, पाताले छाँगो, चमेरे गुफा र महेन्द्र गुफा लगायतका मनमोहक स्थलको भ्रमणले हामी सबैको मन पग्लियो । त्यसैगरी बन्दीपुरका स्थानीय बासिन्दाले दिएको आतिथ्य ग्रहण गर्दा हामी सबै निकै हर्षित भयौँ । सिद्घ गुफाको रहस्यमयी सुन्दरताको अवलोकनले हाम्रो यात्रा अझ रोचक बन्न पुग्यो । प्राकृतिक सुन्दरतामा रमाउने रहर पूरा भएकै थिएन, फर्कने बेला भैसकेको थियो । 

एउटा यात्रा सफल हुन ससाना कुराको पनि महत्वपूर्ण भूमिका रहन्छ । हाम्रो यात्रामा भने असहजपूर्ण कुनै पल नै थिएन । शिक्षकहरुको अविस्मरणीय अभिभावकत्व, साथीहरुको आत्मीयता र बस चालकको कुशलता निकै नै प्रशंशनीय थियो । 

जति उत्साह र उमङ्गका साथ यात्रामा निस्केका थियौँ वास्तविकतामा सोचेभन्दा बढि भयो । जीवनका केही थोरै पल मात्र यस्ता हुन्छन् जुन मानसपटलमा रहिरहन्छ । यो ४ रात ५ दिनको यात्रा सबैको मानसपटलमा रहिरह्यो । अन्त्यमा अब यस्तो यात्रा फेरि कहिले गर्न पाइएला भन्ने अनुत्तरित प्रश्न मनमा राख्दै सबैजना आआफ्नो घरतर्फ लाग्यौँ । 

बन्दना खड्का

कक्षा ९

जगत् मन्दिर मा.वि. चाबहिल


Author: बन्दना खड्का